माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने दुई सय एक जना नक्कली परीक्षार्थीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मोरङका तीनवटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने दुई सय एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालले बिहीबार एक सय ९९ जनालाई पक्राउ गरिएको बताए । बुधबार दुई जना पक्राउ परेको उनले बताए ।
प्रहरीले ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ५२ जनालाई नियन्त्रणमा लिएको हो ।
केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट १ सय २७ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुन्दरहैचाको जनता माबी बाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको हो ।
सामाजिक शिक्षातर्फ परीक्षा दिने क्रममा सार्वजनिक माविमा १ सय २७ जना विद्यार्थी पक्राउ परेका हुन् । सो परीक्षा केन्द्रमा २ सय ९८ जना विद्यार्थीले परिक्षा दिदै आएका थिए। परीक्षा दिने मध्ये झण्डै आधा परीक्षार्थी पक्राउ परेका हुन्।
५३ जना विद्यार्थी पक्राउ परेको ग्रामथान गाँउपालिकास्थित सरस्वती माविमा २ सय ९२ जना विद्यार्थीले परिक्षा दिदै छन् ।
सुन्दरहरैंचा नगरपालिकाको जनता माविमा ३ सय ११ जनाले परीक्षा दिदै आएका छन् । ती मध्ये २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको प्रहरीले बताएको छ ।
बुधबार ग्रामथानकै सरस्वती माविमा खुल्लातर्फ विज्ञान विषयको परिक्षाका क्रममा कल्पना लिम्बूको परीक्षा दिने सुनसरी धरान उप-महानगरपालिका वडा नं-५ की २८ वर्षीय सुस्मिता लिम्बू पक्राउ परेकी थिइन् । लिम्बू पक्राउ परेपछि प्रहरीले थप दुई सय जनालाई पक्राउ गरेको हो ।
‘परीक्षा फारम भर्ना एउटाको फोटो रहेछ, प्रवेश पत्रमा फोटो फेरेको देखियो,डिएसपी दाहालले भने, भेरिफाई गर्दा आफ्नो जन्ममिति पनि भन्न सकेनन् यो घटनाले परीक्षा प्रणालीका बारेमा सोच्न बाध्य बनाएको उनले बताए ।
एसईर्ईको परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गर्ने गिरोह नै सक्रिय रहेकाले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
Discussion about this post