दुधे झार सेतो दुध जस्तो रस निस्कने काण्ड भएको पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो। यसलाई नेपालीमा दुधे झार, अंग्रेजीमा कमन स्पर्ज भनिन्छ। यसको बिरुवालाई ‘आस्थमा प्लान्ट’ भन्ने गर्दछ। किनकि यो दम रोग (आस्थमा) को घरेलु उपचारमा प्रयोग हुन्छ। उक्त बिरुवामा ट्राइटरपेन, फाइटोस्टेरोल्स्, टानिन्स्, पोलिफेनोल्स्, फ्लाभोन्वाइड्स, इसेसिन्यल आयल, अल्कल्वाइड्स, सापोनिन्स्, एमिनो एसिड्स, मिनरल्स् (खनिज पदार्थहरु) पाइन्छन्।
आस्थमाको चियाले सुख्खा खोकीलाई नरम बनाएर खकार निकाल्न सजिलो बनाउँछ। साथै यसमा पाइने क्युरसिट्रिन (एक प्रकारको फ्लाभोन्वाइड ग्लाइकोसाइड) मा पखाला रोक्ने (एन्टि डायरिया) गुण पाइन्छ। साथै यो आस्थमा बिरुवा पेटसम्बन्धी अरु गडबडी जस्तै आउँ, जुका तथा अन्य परजिवीहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।
उक्त बिरुवा खासमा सुख्खा खोकी, सास फेर्न गाह्रो पर्ने, ज्वरो आउने र अरु लक्षणहरुको उपचारमा प्रयोग हुँदै आएको जडीबुटी (हर्बल अल्टरनाटिभ) हो। यो विरुवा उमालेर चियाझैँ पिउन सकिन्छ र खोकीको लागि प्राथमिक उपचारको रुपमा लिन सकिन्छ। यस बिरुवाको पानी रस (आक्वायोस् एक्सट्राक्ट) मा एनजियोलाइटिक, एनाल्जेस्टिक, एन्टिपाइरेटिक र एन्टिइन्फ्लामेटोरी गुणहरु पाइन्छन्। साथै यसमा एन्टिअक्सिडान्ट र फ्रि राडिकल स्काभेन्जिङ गुण हुन्छन्।
Discussion about this post