टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरी अब फिल्म खेल्ने भएका छन्। उनी फिल्म ‘राम नाम सत्य’ मार्फत अभिनय यात्रा सुरु गर्न लागेका हुन्। फिल्म माइकल चन्दको निर्देशनमा बन्न लागेको हो।
निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीसँग आयुषले कागजी सम्झौता गरेका छन्। फिल्ममा साइन गरेपछि आयुषले भने, ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ। तर ‘राम नाम सत्य’को कथा सुनेपछि यहीबाटै डेब्यु गर्ने निर्णय लिएको हुँ। यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ, त्यसैले साइन गरेको हुँ।’
उनकाे चरित्रबारे खुलाइएकाे छैन्। निर्माण टिमका अनुसार आयुष केही महिनादेखि फिल्मको तयारीमा जुटेका छन्। फिल्मका लागि आयुषले तालिम लिइरहेको निर्देशक चन्दले बताए। उनले भने, ‘हामीबीच सहमति भएपछि उनलाई एक्सनको तालिम दिइरहेका छौँ। अब अभिनय प्रशिक्षण पनि सुरू हुँदैछ । फिल्मका लागि उनले निकै मिहिनेत गरिरहेका छन्।’
फिल्मको कथा एक्सन, सस्पेन्स र प्रेमकथा मिश्रित रहेको टिमको दाबी छ। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने फिल्म यही साउनको अन्तिम साता छायांकन सुरू गरिनेछ। चितवन, काठमाडौँलगायत स्थानमा छायांकन गर्ने टिमको तयारी छ।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरीलगायत कलाकारको अभिनय रहनेछ। उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्म संजय लामाको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ।
Discussion about this post