अमेरिकी राज्य टेक्सासमा शुक्रबार भएको भारी वर्षापछि आएको ग्वाडालुप नदीमा आएको बाढीका कारण हालसम्म ५१ जनाको मृत्यु भएको छ भने करिब २७ जना किशोरीहरू बेपत्ता भएका छन्।
ग्वाडालुप नदी नजिकै किशोरीहरूको समर क्याम्प रहेको थियो। सोही क्रममा बाढीले उनीहरूलाई बगाएको थियो। अधिकारीहरूका अनुसार मात्र केवल ४५ मिनेटको समयमा नदीको सतह २६ फिट (८ मिटर) माथि उठ्यो र घर तथा सवारी साधनहरू बगायो।
मौसम विभागका अनुसार बाढीको खतरा अझै पनि कायमै छ। बेपत्ता बालिकाहरूको खोजी गर्न हेलिकप्टर, डुङ्गा र ड्रोन प्रयोग भइरहेको छ। अझै धेरै मानिसहरू बेपत्ता हुने आशंका गरिएको छ।
टेक्सासका गभर्नर डान प्याट्रिकले उद्धार टोली काम गरिरहेको बताए। जसमा नौ उद्धार टोली, १४ हेलिकप्टर र १२ ड्रोन प्रयोग भइरहेको छ। अहिलेसम्म ८५० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ।
केर्भिल नजिकै रहेको किशोरीहरूको समर क्याम्प पूर्ण रूपमा डुबेको थियो। क्याम्पमा रहेका ७५० जना किशोरीहरूको उद्धार गरिएको थियो।
क्याम्पमा बिजुली छैन र धेरै किशोरकिशोरीहरू अझै पनि उद्धारको पर्खाइमा छन्। अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको यकिन संख्या दिन सम्भव नभएको बताएका छन्।
Discussion about this post