पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्। मदन जयन्तीका अवसरमा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्।भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन्। ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु, उनले भनिन्, अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
भण्डारीले आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको पनि बताइन्। ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो। जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान् हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’उनले भनिन्,‘आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु।’
व्यवहारका कसीबाट खारिएका यी भनाइलाई आदर्श मानेर आफू समर्पित बनिरहने उनले बताइन्। उनले भनिन्,‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन्।’
भण्डारीले सदा झैँ सबैको सधैँभरि माया र विश्वास पाउनले विश्वास व्यक्त गरिन्।
Discussion about this post