वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सोमबार वीरगन्ज ल्याइँदैछ। सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियो । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानो पाइला सहकारीबाट करिब ८ करोड रुपैयाँ गएको खुलेको छ।
सहकारीको रकम हिनामिना प्रकरणमा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सोमबार हवाई मार्गबाट पोखराबाट काठमाडौंहुँदै बाराको सिमरा विमानस्थलमा स्थलमार्ग हुँदै वीरगन्ज ल्याउन लागिएको हो।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलबा दिउँसो २:३० बजेको उडानबाट लामिछानेलाई सिमरा ल्याउन लागिएको खबर आफूहरूले पाएको रास्वपा पर्साका संयोजक हरि पन्तले जानकारी गराए।यता पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले पनि लामिछानेलाई सोमबार वीरगन्ज ल्याउने तयारी रहेको बताए । समय भने निश्चित नभएको उनले बताए । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने सोमबार बिहानै पोखराबाट वीरगन्ज ल्याइएको उनले बताए ।
दुवैजनालाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै सोमबार बिहान वीरगन्ज ल्याइएको ढुंगेलले बताए । वीरगन्जस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरूको बयान लिइने र त्यसपछि उनीहरूलाई पोखरा फर्काइनेछ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने कास्की प्रहरी हिरासतमा छन्।
Discussion about this post