करवा चौथ सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा प्रमुख पर्व हो । यो पर्व खासगरी भारतको पञ्जाब, उत्तर प्रदेश, मध्य प्रदेश र राजस्थान प्रान्तमा तथा नेपालको मधेसमा महिलाले मनाउने गर्छन्। यो पर्व कार्तिक महिनाको कृष्ण पक्षको चतुर्थी तिथि पारेर मनाइन्छ । पर्वलाई विशेष विवाहित महिलाले व्रत सम्पादन गरेर मनाउने गर्दछन् । सामान्यतया कार्तिक महिनाको कृष्णपक्षमा पर्ने चन्द्रोदयका समयमा जुन दिन चौथी तिथि (चन्द्रोदयव्यापिनी चतुर्थी) पर्दछ, त्यसै दिनको बिहान ब्रह्म मूहुर्त (करिब बिहानको चार बजे) बाट यो व्रत सुरू हुन्छ र बेलुका चन्द्रमाको दर्शन र पूजा गरेपछि व्रत सम्पन्न हुन्छ ।करवाचौथका दिन दिनभरि उपवास राखेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधि छ । यस बाहेक, करवाचौथको व्रत र उत्सवका क्रममा धेरै जसो महिलाहरूले आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलित विधिविधान र प्रथालाई अनुसरण गर्दछन्।
यद्यपि बहुसंख्यक महिलाहरूले निराहार रहेर चन्द्रोदयको प्रतीक्षा गर्दछन् र चन्द्र दर्शनपछि मात्र व्रतको समापन गर्दछन् । नेपालमा मनाइने तीजको व्रतजस्तै यस व्रतको सम्पादनबाट पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यको प्राप्ति हुन्छ भन्ने मान्यता रहेको पाइन्छ।
Discussion about this post