नारायणगढ-मुग्लिङ सडकको इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा दुई वटा गाडीमा क्षति भएको छ । एउटा गाडीका यात्रुलाई केही नभए पनि अर्को गाडीका पाँच जना यात्रु घाइते भएका छन् ।घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढुंगाले लागेका दुवै गाडी आ-आफ्नो गन्तव्यतर्फ गइसकेको बताए । काठमाडौंबाट बर्दिया जान आइरहेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बा प्र ०६-००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि हिजो राति सवा आठ बजेतिर ढुंगा खसेको थियो । ढुंगाले लााग्दा बर्दिया जााने बसका पाँचजना यात्रु घाइते भएका छन् । माइक्रोबसका यात्रुलाई केही नभएको प्रशासनले जनाएको छ ।
घाइतेहरूलाई बसमा नै राखेर उपचारका लागि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा ल्याइएको थियो । घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।
Discussion about this post