मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिकै आइपुगेसँगै देशभर मनसुन थप सक्रिय बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशभर मनसुनको प्रभाव बढ्ने पूर्वानुमान गर्दै देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।
महाशाखाका अनुसार, हाल देशभरको मौसम साधारणतया बदली रहेको छ भने कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा समेत भएको छ ।
आज दिउँसो देशभर मौसम पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मध्यम वर्षा हुनेछ । विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन अझ बढी सक्रिय रहने पूर्वानुमान छ । सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ ।
मनसुन पूर्ण सक्रिय भएसँगै देशका सातवटै प्रदेशमा भारी वर्षाको जोखिम बढेकोले नदी तथा खोलामा पानीको बहाव बढ्ने, भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भन्दै महाशाखाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
Discussion about this post