चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ।
यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिना गरेको अध्ययनमा यो रोग पुष्टि भएको हो।
कार्यालयका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको छ। कार्यालयले एलाइजा प्रविधिबाट गरेको परीक्षणमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो। उनको अनुसार ९२ नमूना परीक्षणमा ३३ प्रतिशत अर्थात् ३१ नमूनामा यो रोग पुष्टि भएको छ। यो रोगले कुखुराको रोगसँग लड्ने प्रतिरोधी क्षमता कम गर्छ। जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्छ। उनले भने, ‘प्रत्यक्ष रूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्छ।’
यो रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउने जस्ता लक्षण देखिन्छ। उनले भने, ‘कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यो रोगको प्रभाव लामो समयसम्म रहने भएकाले बेवास्ता गर्नु हुँदैन।’ नेपालमा यो रोग काठमाडौँमा पहिलो पटक दुई वर्षअघि देखिएको उनले जानकारी दिए। कुखुरालाई यो रोगबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन दिनुपर्छ। ब्रोइलरको माउ र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्छ।
चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना यो प्रयोगशालामा परीक्षण हुन्छ। गत आर्थिक वर्षमा प्रयोगशालाले दुई हजार ५०० किसानका सात हजार कुखुराको परीक्षण गरेको छ। जसबाट ‘लो प्याथोजेनिक एभिएन इन्फ्लुएन्जा’ (एच–नाइन) ४८ वटामा, रानीखेत १३ वटामा, गम्भारो १२२ वटामा र आइबी (इन्फ्लुएन्जा ब्रोङ्काइटिस) दुई वटामा देखिएको श्रेष्ठले जानकारी दिए।
उनको अनुसार सोही अवधिमा एक हजार १२० कुखुराको कलेजो परीक्षण गरिएको थियो। त्यसबाट इकोलाई सात सय ८५ वटामा र साल्मोनेला एक सय १२ वटामा देखिएको उनले बताए। जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन्। फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइ गर्नुपर्छ। बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्छ।
Discussion about this post