बलात्कार गरेको आरोपमा उदयपुरमा एक शिक्षक पक्राउ परेका छन् । स्थानीय २४ वर्षीया महिलामाथि जबरजस्ती गरेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका ९स्थित सिद्धेश्वर माध्यमिक विद्यालय मुसहरनीयाका शिक्षक गजेन्द्र गिरी पक्राउ परेका हुन् ।
गिरीले महिलालाई चौदण्डीगढी ७ सातधारेस्थित एक होटलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ । आफूमाथि जबरजस्ती गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलटारले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो ।
इप्रका बेलटारका प्रमुख प्रहरी निरीक्षक बबिन राईका अनुसार पीडित महिलाले दिएको उजुरीमा शिक्षक गिरीले गत असार १७ गते होटलमा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् । बलात्कारपछि पनि गिरीले यो कुरा कसैलाई भने नराम्रो हुने भन्दै धम्की दिँदै आएको पीडितको गुनासो छ ।
बलात्कारपछि पनि गिरीले पटक पटक आफू र आफन्तलाई भेटेर र फोनमार्फत पनि गालीगलौज र अपमानित गर्ने गरेको पीडित महिलाको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post