आमाको दूध बच्चाका लागि सर्वश्रेष्ठ हुन्छ । किनभने यसमा बच्चाको वृद्धि र विकासका लागि आवश्यक सबै पोषक तत्त्वहरू हुन्छन् । रोग प्रतिरोधी क्षमता बढाउने तत्त्व र सजिलै पच्ने गुण आमाको दूधमा हुन्छ । बच्चाको शारीरिक र मानसिक स्वास्थ्यका लागि आमाको दूध भन्दा लाभदायक अरु केही नभएको विज्ञहरू बताउँछन् ।
बच्चा जन्मिएपछि आमाको दूध आएन भने बच्चालाई गाई भैंसीको दूध दिने गरिन्छ । आमाको दूधको विकल्पमा शहरी क्षेत्रमा बट्टाको दूध खुवाउने गरे पनि ग्रामिण क्षेत्रमा गाई भैंसीको दूध नै खुवाइन्छ । तर, बच्चा एक वर्ष पूरा नभएसम्म गाईभैँसीको दूध दिन नमिल्ने चिकित्सक तथा पोषणविद्हरूको भनाइ छ ।
आमाको दूध नआएको खण्डमा बच्चालाई के दिने ? गाईभैँसीको दूधको विकल्प नै नभए के गर्ने ? जस्ता विषयमा न्युट्रिसन एण्ड डाइट क्लिनिककी पोषणविद् अर्षा प्रधान कोइरालासँग सुमित्रा लुईटेलले गरेको कुराकानी ।
आमाको दूध नआएको खण्डमा के गर्ने ?
सम्भव भएसम्म दुई वर्षसम्म आफ्नो शिशुलाई नियमित आमाले नै स्तनपान गराउनुपर्छ । तर कतिपय अवस्थामा आमाको दूध नआउन सक्छ । त्यस्तोबेला बच्चाका लागि बनेको फर्मुला मिल्क खान दिन सकिन्छ । आमाको दूध आउँदै नआएको अवस्थामा विकल्पका लागि मात्र ‘फर्मुला मिल्क’ बनाइएको हो ।
आमाको दूधमा पाइने पोषक तत्त्वलाई आधार मानेर नै फर्मुला मिल्क उत्पादन गरिएको हुन्छ । आमाको दूधमा कति प्रोटिन, भिटामिन, खनिज, फ्याट छ, त्यसैको संयोजन गरेर निश्चित मापदण्ड अनुसार फर्मुला मिल्क तयार गरिन्छ ।
आजभोली बजारमा फर्मूला मिल्क छ्यापछ्यापती पाइने भएकाले कतिपय आमाले आफ्नो दूध आए पनि फर्मूला मिल्क दिने गर्छन् त्यो भने गलत हो । आमाको दूध छुटाएर यो खुवाउँदा शिशुको स्वास्थ्यमा असर पर्छ ।
स्वादका हिसाबले यो मिठो हुन्छ त्यसैले यसको बानी परेपछि बच्चाले आमाको दूधमा रुचि राख्न छाड्छन् । साथै फर्मूला दूधको विज्ञापनले आमाबाबुलाई त लोभ्याएको छ, तर यसले शिशुको स्वास्थ्यमा खेलबाड गर्न सक्छ ।
आमाको दूध नआएको खण्डमा वा थप रुपमा बच्चालाई गाईभैँसीको दूध दिन मिल्छ ?
कतिपय आमाले आफ्नो दूधको विकल्प ठान्छन्, गाईभैँसीको दूध । आमाको दूध नआएको अवस्थामा पनि गाईभैँसीको दूध पिउन दिइन्छ । ठोस पदार्थ खाने उमेर नपुगेको बच्चालाई गाईको दूध सजिलो र छरितो आहार मान्ने गरिन्छ ।
तर साना बालबालिकालाई गाईभैँसीको दूध दिन मिल्दैन । बच्चालाई गाईभैँसीको दूध दिन नमिल्नुका विभिन्न कारण छन् । पहिलो कारण गाईभैँसीको दूधमा प्रोटिन र मिनरल्स जस्तै क्याल्सियम र सोडियमको मात्रा धेरै हुन्छ, जुन शिशुको अपरिपक्व मिर्गौला र पाचन प्रणालीले सहन सक्दैन । यसले पेट दुख्ने, कब्जियत वा अन्य समस्या निम्त्याउन सक्छ ।
गाईभैँसीको दूधमा नवजात शिशुका लागि आवश्यक पोषक तत्त्वहरू जस्तै फलाम, भिटामिन सी र अन्य माइक्रोन्युट्रिएन्ट्स पर्याप्त मात्रामा हुँदैन । यसले शिशुको वृद्धि विकासमा कमी ल्याउन सक्छ ।
आमाको दूधमा शिशुको रोग प्रतिरोधी क्षमता बढाउने तत्त्वहरू हुन्छन्, जुन गाईभैँसीको दूधमा पाइँदैन । गाईभैँसीको दूधले शिशुलाई रोगबाट बचाउन सक्दैन । गाईभैँसीको दूधमा आइरनको मात्रा कम हुन्छ, जसले शिशुमा रक्तअल्पताको जोखिम बढ्न सक्छ ।
गाईभैँसीको दूधमा आमाको दूधको तुलनामा राम्रो फ्याटको मात्रा पनि एकदमै थोरै हुन्छ जसले गर्दा बच्चाको मानसिक विकास पनि राम्ररी हुँदैन । त्यसैले बच्चाको सम्पूर्ण विकासका लागि आमाको दूध नै सर्वश्रेष्ठ हो ।
यदि कुनै कारणवश आमाको दूध आइरहेको छैन भने पनि गाईभैँसीको दूध दिनु भन्दा फर्मुला दूध दिन सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पनि १२ महिना नपुगेसम्म बच्चालाई गाईभैँसीको दूध दिन सिफारिस गरिँदैन ।
१२ महिनापछि भने बच्चाको डाइटमा गाईभैँसीको दूधलाई जोड्न सकिन्छ त्यही पनि एकदमै कम मात्रामा ।
आमाको दूध पनि आएको छैन र फर्मुला दूध पाइँदैन भने के गर्ने ?
सहरी क्षेत्रमा त आमाको दूध नआएको खण्डमा बच्चालाई फर्मुला दूध खान दिन सकिन्छ । तर, नेपालको कतिपय ठाउँमा भन्नेबित्तिकै फमूर्ला दूध किन्न नपाइएला । त्यस्तो अवस्थामा बच्चालाई के खान दिने त ? भन्ने प्रश्न पनि उठ्छ । त्यस्तो अवस्थामा बच्चालाई भोकै राख्ने कुरा त भएन । त्यसैले, गाईभैँसीको दूधलाई अलिकति परिस्कृत गरेर दिन सकिन्छ ।
आमाको दूध फिटिक्कै आएको छैन, फमूर्ला दूध पनि पाइएको छैन भने विकल्पको रुपमा गाईभैँसीको दूधमा आधा पानी मिसाएर दिन सकिन्छ । तर, आमाको दूध आएको छ भने थप यस्ता दूध दिन हुँदैन । बच्चालाई गाईभैँसीको दूध दिँदा उसलाई आइरनको कमी हुन सक्छ ।
साथै उसलाई आवश्यक पर्ने पोषक तत्त्व पनि प्राप्त गर्न सक्दैन र जसले गर्दा कुपोषण पनि हुनसक्छ । त्यसैले वरपर फर्मुला मिल्क पाइएको छैन भने पनि अस्पताल वा स्वास्थ्य चौकीमा फर्मुला मिल्क पाइन सक्छ । त्यहाँ पनि नपाइएको अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ ।
६ महिनापछि आमाको दूधसँगै पूरक खानामा बच्चालाई के के दिन सकिन्छ ?
६ महिनासम्म बच्चाका लागि आमाको दूध नै सर्वश्रेष्ठ खाना हो । ६ महिनापछि भने बालबालिकालाई आमाको दूधले मात्र पुग्दैन त्यसैले दूधसँगै अरू ठोस खानेकुरा पनि दिनुपर्छ ।
पूरक खानामा बजारमा पाईने लिटो वा ‘स्यारलेक्स’ नै दिनुपर्छ भन्ने छैन । ६ महिनापछि बच्चालाई फलफूल खुवाउन सकिन्छ । जस्तो स्याउलाई उसिनेर थिचेर लेदो बनाएर खान दिन सकिन्छ ।
आलु, सखरखण्ड र फर्सीलाई पनि उसिनेर थिचेर लेदो बनाएर खान दिन सकिन्छ । अण्डा पनि उसिनेर थिचेर मसिनो बनाएर दिन सकिन्छ । साथै थोरै खाना र दाललाई पनि नरम बनाएर दिन सकिन्छ ।
यस्ता खानेकुरा बच्चालाई दिँदा त्यसमा नुन, चिनी र मरमसलाको प्रयोग भने गर्नुहुँदैन । किनकि बच्चालाई चाहिने भिटामिन र मिनरल्स प्राकृतिक खानाबाट नै पाइन्छ ।
बच्चालाई कस्ता खानेकुरा दिनु हुँदैन ?
साना बच्चालाई विशेष गरी एक वर्षमुनिका बच्चालाई मह दिनु हुँदैन । महमा क्लोस्ट्रिडियम बोटुलिनम नामक ब्याक्टेरियाका जीवाणु हुनसक्छ । एक वर्षमुनिका बच्चाहरूको पाचन प्रणाली पूर्णरूपमा विकसित नहुने हुनाले यी जीवाणुले बोटुलिज्म निम्त्याउन सक्छ, जुन एक गम्भीर अवस्था हो ।
साथै साना बच्चाहरूको रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ, जसले गर्दा महमा भएका सूक्ष्म जीवहरूसँग लड्न सक्दैनन् । महले कतिपय बच्चाहरूमा एलर्जी निम्त्याउन सक्छ, जसले श्वासप्रश्वास वा छालासम्बन्धी समस्या उत्पन्न गर्न सक्छ ।
६ महिना पछिका साना बालाबालिकालाई नुन, चिनी पनि नदिनु राम्रो । सानै उमेर धेरै थप नुनको प्रयोग गरेर खाना दिइयो भने पछि गएर मिर्गौलाको समस्या निम्त्याउन सक्छ।
चिनीमा कुनै पनि पोषक तत्त्व हुँदैन यसले खानामा क्यालोरी बढाउने काम मात्र गर्छ, जसले गर्दा पछि गएर बच्चामा मोटोपना देखापर्न सक्छ । साथै बालबालिकालाई मसला पनि दिनुहुँदैन । धेरै मरमसला मिसाइएको खाना दिइयो भने त्यसले बच्चाको पाचन प्रणालीमा समस्या देखापर्न सक्छ ।
साना बच्चालाई पपर्कन, ड्राइफ्रुट जस्ता खानेकुरा पनि दिनुहुँदैन । किनकि यस्ता खानेकुरा अड्किने सम्भावना हुन्छ ।
Discussion about this post