काखी कालो हुने समस्याको कारणले कहिलेकाहीँ धेरै लज्जित पनि हुनुपर्छ ।
यस्तोमा कालो काखीको कारणले गर्दा स्लिभलेस लुगा लगाउन अफ्ठेरो महसुस हुन्छ भने केही घरेलु उपाय अपनाएर यो समस्यालाई कम गर्न सकिन्छ ।
शरीरको यो भागको रङ कालो हुने कारण
अत्याधिक पसिना आउने, फोहोर, घर्षण, हाइपरपिग्मेन्टेसन, ब्याक्टेरिया संक्रमण र एडिसन रोग जस्ता कारणले काखीको भाग कालो हुनसक्छ । साथै कहिलेकाहीँ यो हर्मोनको कारणले हुन सक्छ । कहिलेकाहीँ रसायनिक उत्पादनहरूको प्रतिक्रियाको कारणले पनि हुनसक्छ ।
काखी कालो हुने समस्याबाट छुटकारा पाउने उपाय
स्क्रब मास्क
सामग्री : १/२ चम्चा नरिवलको तेल, १ चम्चा टुथपेस्ट र १ चम्चा बेकिङ सोडा
बनाउने तरिका : एउटा कचौरामा १/२ चम्चा नरिवलको तेल लिने, त्यसमा टुथपेस्ट र बेकिङ सोडा मिसाउने र राम्ररी मिश्रण गर्ने । तयार मास्कलाई काखीको क्षेत्रमा लगाउने । अब लगभग १०–१५ मिनेटसम्म मास्कलाई छोड्ने । जब यो अलिकति ओसिलो रहन्छ, हल्का हातले स्क्रब गर्ने र पानीले धुने र सफा तौलियाले पुछ्ने ।
बेकिङ सोडा एक उत्कृष्ट एक्सफोलिएटर हो, जसले छिद्रहरू खोल्छ र काखीको कालोपन कम गर्न मद्दत गर्छ ।
टोनिङ मास्क
सामग्री : १/४ कप बेसन, १ चम्चा चामलको पिठो, १ चम्चा बेसारको धूलो, १ चम्चा मह, १/२ चम्चा दूध
बनाउने तरिका : एउटा कचौरामा सबै सामग्रीहरू राख्ने र राम्ररी फेटेर मिश्रण गर्ने । तयार मास्कलाई कालो ठाउँमा लगाउने । १०–१५ मिनेटसम्म सुक्न दिने र तातोपानीले धोएर सफा गर्ने । बेसनले मृत छाला हटाउन मद्दत गर्छ र छालाको रङलाई एकनास बनाउँछ ।
लाइटनिङ मास्क
सामग्री : २ चम्चा मुसुराको दालको पेस्ट, १/२ कागतीको रस १/२ कप दूध
बनाउने तरिका : एउटा कचौरामा दालको पेस्ट राख्ने र त्यसमा कागतीको रस र दूध मिसाउने । अब सबै सामाग्रीलाई राम्ररी मिश्रण गर्ने । मास्कलाई कालो भएको काखीको वरपर लगाउने। १०–१५ मिनेटसम्म मास्कलाई छोड्ने र चिसो वा तातोपानीले धुने । मुसूरको दाल एक उत्कृष्ट ब्लीचिङ एजेन्ट हो ।
स्मूदनिङ मास्क
सामग्री : एलोभेरा जेल वा मोइस्चराइजर
लगाउने तरिका : आफ्नो काखीमा एलोभेरा जेल वा मोइस्चराइजर लगाउने र यसलाई १५–२० मिनेटसम्म छोड्ने । अब सफा नरम कपडाले पुछेर सफा गर्ने । एलोभेराले छालालाई नरम र चिल्लो बनाउन मद्दत गर्छ ।
यसबाहेक केही अन्य कुराहरूमा पनि ध्यान दिनुपर्छ
कहिलेकाहीँ परफ्यूम वा डिओडोरेन्ट काखीलाई उपयुक्त हुँदैन र त्यसको प्रयोगले काखी कालो हुनसक्छ । त्यसैले, प्राकृतिक डिओडोरेन्ट प्रयोग गर्नुपर्छ । काखीको रौँ शेभ गर्नबाट जोगिनुपर्छ । किनकि यसले काखी कालो हुन सक्छ । यस्तोमा वैक्सिङ एक राम्रो विकल्प हुनसक्छ ।
आफ्नो काखीलाई नियमित रूपमा एक्सफोलिएट गर्नुपर्छ, यसो गर्नाले पनि काखी कालो हुने समस्या कम हुन सक्छ ।
Discussion about this post