हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गरेको छ। हामीले संघर्षका, बलिदानका र सफलताका ७६ वर्षहरु पार गरेका छौं। ७६ वर्ष गौरवका वर्षहरु, उपलब्धिका वर्षहरु पार गरेका छौं।
हामीले आन्दोलनलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिसकेका छौं। अथवा अहिले संस्थापनकालको पुस्ता अब लगभग बाँकी रहेन। त्यसभन्दा पछिको पुस्ता संघर्षको मैदानमा छ।
संस्थापनकालमा कलिलो उमेर भएका साथीहरु त हुनुहोला। तर, संस्थापनकालमा अलिक वयश्क भइसकेका साथीहरुको एकाध संख्याबाहेक त्यो संख्या बाँकी रहेन। यो वार्षिकोत्सव साँच्चै नै गौरव गर्न लायकको र इतिहाससहितको वार्षिकोत्सव भएको छ।
नेत्रलाल अभागीले ‘सतिसाल’ भन्ने कविता लेखेर भन्नुभएको थियो, ‘आँधीहुरीका बेला सतिसाल मात्रै ठिङ्ग उभिन सक्छ।’ कतिपय तत्वहरु अप्ठ्यारा परिस्थितिहरुमा अलिकति आन्दोलनमा धक्का लाग्यो भने कताबाट निस्किएर भागौं भन्ने अवस्थामा हुन्छ। तर, आज नेकपा (एमाले) बनेको यो पंक्ति एउटा गौरवपूर्ण इतिहासबाट इतिहासलाई जोगाएर, इतिहासको झण्डालाई उठाएर, उद्देश्यका झण्डाहरुलाई उठाएर दृढताका साथ अगाडि बढ्दै यहाँ आइपुगेको छ।
एउटा प्रमुख विशेषता यो बनेको छ र आज नेपालमा राष्ट्रिय चेतना जुन छ, त्यसको प्रतिनिधित्व र त्यसको एक ढंगले भन्ने हो भने राष्ट्रिय गुरुको काम नेकपा (एमाले) ले गरेको छ।
आज धेरै कुराहरु फेरिएका छन्। यो बदलिएको परिस्थितिमा हामीले अत्यन्तै सचेतनताका साथ सही विश्लेषण, सही निष्कर्षका साथ सही नीतिनिर्माण गर्नु पर्दछ। ती नीतिका आधारमा सही निर्णय गर्नुपर्दछ, सही कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्दछ र यत्रो हमला गरेको बेला साथीहरुलाई आश्चर्य लाग्दैन ? दुनियाँले यत्रो हमला गरेको छ, केपी ओली बिनाको एमाले खोजेको छ। किन खोजेको होला केपी ओली बिनाको एमाले ? तिनको मनसाय सही भएको भए त म सरक्क छोडिहाल्थे नि।
हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ, केपी ओली बिनाको एमाले र एमाले बिनाको नेपाल चाहियो अरे उनीहरुलाई ! हामी चुनौतीका साथ भन्छौं, मिसन ०८४ मा हेरौला, एमाले बिनाको नेपाल हुन्छ कि के के बिनाको नेपाल हुन्छ।
नेकपा (एमाले) यस्तो शक्ति हो, जसलाई यत्रो महाप्रलयका साथ हमला गर्दा सकिएन त, प्रमुख पार्टीको रुपमा आयो त, अझै बुझ्नु पर्दैन ? अझै पनि ट्याइँट्याइँ गर्छन्।
भुइँफुट्टाहरुले राजनीति कसरी गर्न खोजेका छन् देख्नुभएन ? राजनीति गर्नेहरुले राजनीति गर्नु हुँदैन अरे ! माझीलाई ढुंगा चलाउन नदिने, म चलाउँछु भनेर बगाइदिने, घोप्टाइदिने, डुबाइदिने।
ड्राइभरलाई गाडी चलाउन नदिने, सिक्दै नसिकेका मान्छेहरुलाई यसले चलाएन, यो बुढो ड्राइभर यसले पहिलेदेखि चलाएको छ, २० वर्ष भयो चलाएको, कहाँ पाउँछ ? अब म सिटमा बसेर चलाउँछु भन्छ, कहिल्यै चलाएको छैन, त्यसले के हुन्छ ? त्रिशुलीमा खसाल्दैन ?
त्रिशुलीमा पुर्याउँदै पुर्याउँदैन, यही परतिर खसालिहाल्छ। त्यस्ताहरुलाई जिम्मा दिन सकिन्छ ? जसले मेसिन चलाएको छैन, उसले मेसिन चलाउने ? सेफलाई खान बनाउन नदिने, अनि अनाडी कहिल्यै आमाले बनाएको चिया बाहेक आफूले एककप चिया बनाएर पनि नखाएकाले म खाना बनाउँछु भनेर, चामल पनि डडाउँछ, दाल पनि डडाउँछ, तरकारी पनि डडाउँछ, नुन पनि हाल्दैन, बेसार नै बेसार बनाउँछ, त्यो काम लाग्छ ? हामीले नयाँ पनि देख्याैं।
अब नयाँ पनि देखिए र फेरि हामीले फालीसकेका सयौं वर्ष अन्धारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरु अहिले प्रतिगामी शक्तिहरु, फेरि प्रतिक्रियावादी शक्तिहरु, फेरि प्रतिगमन गरेर आउन खोजिराखेका छन्। कत्रो आँट होला ! २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने अरे ! महाराजधिराज भएर जनतालाई हुकुम दिने अरे ! जनताभन्दा माथि, संविधानभन्दा माथि, देशभन्दा माथि, १५ गते यिनीहरु नाङ्गिए।
अलिक अप्ठ्यारो पर्यो भने हामीले खोजेको त संवैधानिक राजतन्त्र ! संविधान नमान्ने, कानुन नमान्ने, लोकतन्त्र नमान्ने, अनि खोज्ने के, संवैधानिक अरे ! संविधान नमानेर संवैधानिक खोज्ने ?
संविधान नमान्ने, संवैधानिक खोज्ने ? जनताले भनेको नमान्ने, जनताले बनाएको संविधान नमान्ने, जनताले ल्याएको लोकतन्त्र नमान्ने, जनताको प्रणाली नमान्ने, जनताको सार्वभौमसत्ता नमान्ने, जनताको सर्वोच्ता नमान्ने, जनता शक्तिका स्रोत हुन् भनेर नमान्ने, अनि जनताको चाहनाअनुसार भन्ने।
अनि पैसा तिरेका चारवटा गुण्डा शहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरु तोडफोड गर्न लगाएर, व्यापार विजनेशमा आक्रमण गर्न लगाउने, अनि देश बिग्रियो, हामी सर्पान आउँछौं, मलाई साथ देउ, म अगाडि बढ्छु भनेर आह्वान् गर्ने।
अस्ति २०५८ सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा हामी सबैलाई थुने, अहिले प्रेसवालाहरु के भन्दैछन्, म बुझ्दिनँ। त्यति बेला त समाचार भन्नेका पछाडि आर्मी उभिएर समाचार भनेको होइन ? प्रेसमा साँचो लगाउन गएको होइन ? समाचार बन्द गरिएको होइन ?
टेलिफोनको लाइन काटेर होइन, तार काटेको थियो। कस्तो लाइन काटेपछि त सिद्धियो नि, तार काटेर कहाँ गएको ? अहिलेसम्म तार ज्ञानेन्द्र शाहले फिर्ता गरेका छैनन्। कहाँ लगेको हो, कहाँ लगेको हो। अनि फेरि राजतन्त्र चाहियो ? हामीले अस्ति देखेका छैनौं, २०५८ देखि २०६२ सम्म ? यो भुलभुलैयामा नपरौं, यस्ता शक्तिहरु हाम्रो सुदृढ एकता र हाम्रो एमाले जस्तो गर्जन नपुगेर यिनीहरु सल्बलाउन थालेका हुन्।
नयाँ शक्ति भनेको छ, नयाँ शक्तिको अब तमासा देखिएन ? कोही प्रहरी कुल्चिएर गाडी गुटुटु लिएर जान्छन् पागल हो कि, सद्दे हो कि ? राज्यको ड्युटी गर्न उभिएको प्रहरीमाथि मार्न गाडी लिएर जाने ? यिनीहरुको प्रभोकेशनलाई हामी सहेका छौं तर सहनुको एउटा हद हुन्छ। जब जनतालाई अवमूल्यन गरिन्छ, हेपिन्छ तब सहने कुराको हद हुन्छ भन्ने कुरा म चेतावनी पनि भन्न चाहन्छु।
अब हामी सुशासन र विकासको बाटोमा अगाडि बढेका छौं। सजिलो छैन। धेरैतिर बिग्रिएको छ। बिग्रिएकोलाई सच्यााएर अगाडि बढ्न, सपारेर अगाडि बढ्न सजिलो छैन। त्यही अप्ठ्यारो काम हामी गरिराखेका छौं र गर्न खोजिराखेका छौं।
नौ महिना अगाडि हामीले सरकार जिम्मा लिंदा देशको अर्थतन्त्र अस्तव्यस्त र ध्वस्तको अवस्थामा निकै ओरालो लाग्दो अवस्थामा थियो । त्यो ओरालो लागेको अवस्थाबाट ब्रेक हान्दैहान्दै ल्याएर यो वर्ष बढीमा हामीले ठीक ठाउँमा ओरालो लाग्ने क्रमलाई रोकेर अब सकारात्मक बाटोमा फर्काउन हामी नयाँ बजेट ल्याउँदै छौं, नयाँ नीति कार्यक्रम ल्याउँदै छौं र त्यस ढंगले अगाडि बढ्छौं।
अहिले एकजना मन्त्रीले राजीनामा दिनुभयो भन्ने खुब प्रचारवाजी छ। किन दिनुभयो अरे भन्दा प्रधानमन्त्रीले बसिखानै दिएन अरे ! मैले बनाएको मन्त्री, मैले काम लगाइराखेको छु, सहयोग गरिराखेको छु, सिकाइराखेको छु, उहाँले अस्ति भर्खर पनि घाँटीको अप्रेशन गर्नुभयो, स्वास्थ्य पनि ठीक भएन। शिक्षा मन्त्रालय धेरै ठूलो मन्त्रालय छ। सजिलो पनि छैन।
त्यसो भएर उहाँले स्वास्थ्यको कारण देखाउनुभएको छ। स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नुभएन, तर आजको अखबार हेर्नु पर्छ, सबैको हेडलाइन मेराविरुद्ध ! यो त आश्चर्यको पनि यस्तो अनौठो आश्चर्य लाग्छ, यस्तो दुुश्मनी के कारणले हो ? सबैले एकै ठाउँमा बसेर सल्लाह गरेर लेखेको जस्तो गर्छन्।
मानिलिऔं, प्रस्ताव राखेर पारित नै गरेर यही लेख्ने भनेर लेखेको जस्तै। सबैको टेलिफोन संवाद भएर योजनाबद्ध ढंगले लेखेका छन्, आज सबै पेपरका हेडलाइन हेर्नुस्। सरकारले असहयोग गरेर कही कही ठाउँमा लेखेको होला। नत्रभने प्रधानमन्त्रीले असहयोग गरेर, प्रधानमन्त्रीसँगको मतभेदबाट भनेर लेखेका छन्।
धेरैलाई लागेको छ, कोही कोही नयाँ शक्तिहरुले त भनेछन् पनि, ‘शिक्षामन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनु पर्दथ्यो’ भनेर। प्रधानमन्त्रीको राजीनामा मैले भन्ने गरेको छु त, १५ महिनापछि आउँछ भनेर।
हाम्रो नेपाली कांग्रेससँग सहमति नै छ, १५ महिनापछि राजीनामा मैले गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। यसमा स्पष्ट नै छ, १५ महिना पर्ख न मेरो राजीनामा हेर्ने मन छ भने, पर्ख पर्ख…१५ महिना पर्ख। मैले १५ महिनापछि राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ।
पत्रिकालाई अरु नै बनाउन मन होला, १५ महिना त्यस्तै हो। आरजुजीको एउटा मिटिङ थियो, शेरबहादुरजी स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभयो, वाह ! मन्त्रीको राजीनामाको कुखुराको चल्लाहरुले सानो फट्याङ्ग्रो पाए भने एउटा चल्लाले ट्याप्प समातेर कुद्छ, के खान आँट्यो यसले भनेर त्यसका पछि सबै कुद्छन्।
अहिलेको मिडिया पनि त्यस्तै भएको छ, एउटाले ट्याक्क टिपेर कुद्छ, के लग्यो चुच्चोमा खान आँट्यो भनेर सबै त्यसका पछि कुद्छन् के के न भेट्याए भनेर।
शेरबहादुरजी स्वास्थ्य परीक्षणका लागि जानु भयो। अनि शेरबहादुरजीले कांग्रेस र एमाले मिल्नु हुँदैन भनेर भन्ने मान्छे खोज्न जानुभएको हो बैंकक ? त्यस्तो मान्छे यहाँ भेट्याएको छैन ? यहाँ त्यस्ता कुरा सुनेका छैन ? हामी साथ दिन्छौं, हामी सहयोग गर्छौं, तपाईं नै सरकार चलाउनुस्, तपाईं नै प्रधानमन्त्री हुनुस्।
ए बाबा ! १४/१५ महिना पर्खिनुस् न भनेको। उहाँलाई नै बनाउने हो, त्यति बेला उहाँलाई साथ दिनुस्, सहयोग गर्नुस् न। अहिले पनि साथ दिनुस्, पछि उहाँ पनि बन्नु हुन्छ भनेर साथ दिनुस् न, भैगो नि ! हल्ला चलाएका छन्, शेरबहादुरजी आएपछि के हुन्छ…?
नेपालमा प्रतिगमन हुनेवाला छैन। अब यसो प्वालबाट निस्किएर फिटिटिटि उडेका छिचिमिराहरुको जमाना आउँछ कि भन्ने नसोचे हुन्छ। केही आउनेवाला छैन।
देश नेकपा (एमाले) ले भनेको गन्तव्यतिर अगाडि बढ्छ अस्ति असार १७ गते बिहान छक्क परे, १७ गते राती सबै छक्क परे। सिध्याउँछौं भनेको एमाले, सिध्याउँछौं भनेको केपी ओली प्रधानमन्त्री पो हुने भयो भनेर। के भएको यो ? दुनियाँ लाग्दा पनि फेरि केपी ओली प्रधानमन्त्री, फेरि एमाले सरकारमा ! भनेर छक्क परे।
सरकारको नेतृत्व एमालेले गरेको छ। दुनियाँले सोचेको थियो, तीन वर्ष अगाडि उही दिन, जुन दिन छोडेर हिंडेको थियो, त्यही दिन तीन वर्षभित्र संवैधानिक बाटोबाट फेरि फर्किएर नेकपा (एमाले) आएको छ।
फेरि पनि नेकपा (एमाले) आफ्ना सुकर्महरुमार्फत्, सुविचारमार्फत्, सुनीति, सुव्यवहार, सुुआचरण, सुगन्तव्य र सुसंकल्पमार्फत् अगाडि बढ्छ र सफलता प्राप्त गर्दै अगाडि बढ्छ।
यहाँको प्रगतिवादी आन्दोलनलाई, यहाँको लोकतन्त्रवादी आन्दोलनलाई, यहाँको गणतन्त्रात्मक लोकतान्त्रिक आन्दोलनलाई कसैले पनि समाप्त पार्न सक्दैन।
अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी नेकपा (एमाले) यस देशमा छ, नेकपा (एमाले) ले सबै समस्याको समाधान दिंदै अगाडि बढ्ने छ। यस देशमा एमाले छ। कुनै कलिलो र काँचो एमाले होइन। ७६ वर्ष पूरा गरेर ७७ वर्षमा प्रवेश गर्दै गरेको एमाले छ।
कतिपयलाई मेरो उमेरको चिन्ता छ, कतिपयलाई मेरो स्वास्थ्यको चिन्ता छ। स्वास्थ्यको चिन्ता पोहोर परार म बिरामी थिए। पोहोर परार बिरामी थिए, अहिले बिरामी छैन।
अब मलाई बुढै देख्न मन छ भने २०/२५ पर्खिनुस् न बाबा ! पर्खिनुस् न, बुढो नभइकन मान्छे रहनै सक्दैन नि, बुढो त भइहाल्छ। २०/२५ वर्ष पर्खिनुस् न। किन हतार ? हतार गरेर हुन्छ ? २५/३० वर्ष पर्खिनुस्।
अहिले त मेरो बुबा हिंड्दै हुनुहुन्छ लौरो नटेकीकन। मलाई बुढो देख्ने, के भएका आँखा होलान् ! मेरो बुबालाई भने हुन्थ्यो बरु। मेरो उमेरका कुरा, स्वास्थ्यका कुराको बारेमा एकदिन हाफम्याराथुन राखौं कि क्या हो ?
हामी एउटा दह्रो मिसन बोकेर हिंडेका छौं, जबसम्म सक्छौं तबसम्म गर्छौ। जबसम्म यस मिसनलाई बोक्न सक्छौं, तबसम्म कन्जुस्याइँ नगरी बोक्न सक्छौं।
जब सक्दैनौं, बाँकी साथीहरु आउनु हुन्छ। हिजोका साथीहरु बितेर जानुभयो, हामीले थामेर अगाडि बढाएका छौं। हामीपछि अरु साथीहरुले थामेर अगाडि बढाउनु हुन्छ। किनभने हामीसँग बुद्धले भनेको जस्तै उहाँको दिवंगत हुने बेलामा, उहाँको निधन हुने बेलामा उहाँको वरिपरी भिक्षुहरु, भक्तहरु, अनुयायीहरु बसेर आँशु खसाउँदै सोधे, बुद्ध अब तपाईंको शेषपछि के होला ? बुद्धिज्म के होला ? बुद्धले भने, मेरा विचारहरुले मलाई बचाउने छन्, मेरा विचारले मेरा विचारहरुलाई बचाउने छ।
तिनीहरुलाई अनुशरण गर्दै तिमीहरु अगाडि बढ। विचारले बचाउने हो। नेकपा (एमाले) लाई विचारले संगठित, पुनःगठित र फेरि पछारियो भने फेरि उठेर धुलो टक्टक्याएर अगाडि बढेको छ।
यो मर्दैन, यो विचारका कारणले यसका महान् उद्देश्यको कारणले अगाडि बढ्छ। कार्लमाक्र्सले त्यसैकारण भन्नुभएको थियो, पेरिस कम्युन अहिले दबेको होला, तर पेरिस कम्युन जसका उद्देश्य जबसम्म पूरा हुँदैनन्, फेरि पटक पटक दुुनियाँका भागहरुमा प्रकट भइरहने छ।
पेरिस कम्युन आज नेपालमा अझ मजबुत र अझ बलियो भएर प्रकट भएको छ। यसका उद्देश्य जबसम्म पूरा हुँदैनन्, यो ठाउँठाउँमा प्रकट भइरहने छ, यो सही कुरा हो।
अन्त कतिपय ठाउँमा अप्ठ्यारोमा होला, कतिपय कारणहरु होलान्, कतिपय कमिकमजोरीहरु होलान्, हामी ती कमिकमजोरीहरु पनि हुन दिंदैनौं, कारण हुनसक्छ तर तिनको समाधान पनि छ। हामी समाधान दिएर अगाडि बढ्छौं।
त्यसकारण हाम्रो आन्दोलन कमजोर हुँदैन। यो विश्वासका साथ अगाडि बढ्न म साथीहरुलाई हार्दिक आग्रह गर्दछु। हामी जेलमा हुँदा गाउन्थ्यौं, वी स्याल ओभर कम सम डे भनेर, हामी जित्ने छौं एकदिन भनेर गाउन्थ्यौं। हामीले त जितेका छौं, अझै ठूला जितहरु हासिल गर्दै जानेछौं, झन् ठूला जितहरु हासिल गर्दै जानेछौं।
त्यो गीत हामी जित्ने छौं एकदिन, हाम्रा लागि पुरानो भइसक्यो। हामी जित्ने छौ भनेर जेलमा बस्दा गाउन्थ्यौं। भूमिगत हुँदा हामी गाउन्थ्यौं। आज त हामी सेल्टरको किताब लेख्दैनौं, सेल्टर हामी आज भोगिराखेका छैनौं।
आज अर्को परिस्थिति सिर्जना भएको छ। कतिपय साथीहरुले बडो भावुक भएर भन्नुहुन्छ, ओहो ! यस्ता पो कम्युनिष्ट थिए भनेर। हो, त्यस्तै कम्युनिष्ट थिए र पो आज यो दिन आयो।
हामीले त्यस्तै कम्युनिष्टबाट ल्याएका हौं। अरु दन्त्य कथाको पात्र होइन, लेख्ने मान्छे त यहीँ हुनुहुन्छ। सेल्टर लेख्ने मान्छेहरु, ती दिन भोग्ने मान्छेहरु यहीँ हुनुहुन्छ। म यहीँ छु, जेल जाने मान्छे यहीँ छौं, भूमिगत भोग्ने मान्छे यहीँ छौं, पिटाइ खाने मान्छे यहीँ छौं।
दु:खकष्ट भोग्ने मान्छे यहीँ छौं। पचासौ पटक गिरफ्तारी दिने मान्छेहरु यहीँ छौं। आज सम्मानित भएका मान्छेहरु यहीँ हुनुहुन्छ। अहिले इतिहास, इतिहास भइसकेको छैन। इतिहास अझै जीवित छ। यो इतिहास अगाडि बढ्छ। अरु विभिन्न यस्ता सफलताका कथाहरुको श्रृंखला बनाउँदै अगाडि बढ्छ।
मैले अघि नै भनेँ, गौरवपूर्ण ७६ वर्षहरु हामीले पार गरेका छौं र सय वर्ष पुग्दा यस आन्दोलनलाई समृद्ध नेपाल सुखी नेपालीको एकचरणमा पुर्याउने हाम्रो उद्देश्य रहेको छ।
जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरेको छ। हामीले तय गरेको समृद्ध नेपाल सुखी नेपालीको त्यस सही गन्तव्यले हामीलाई ऊर्जा दिएको छ।
त्यस संकल्पलाई साकार पार्न हाम्रो सक्रियताले हामीलाई सफलता दिलाउने छ। त्यो विश्वासका साथ हामी अगाडि बढ्छौं।
दुनियाँको यथोचित सफलता, साथ, सहयोग र समर्थन हामीलाई छ। हाम्रा छिमेकीहरुको साथ सहयोग र समर्थन हामीलाई छ। कसले भन्यो, साथ सहयोग र समर्थन छैन भनेर ?
केही केही समस्याहरु त छिमेककमा देखा पर्न पनि सक्छन् नि, कहिले कहिले। त्यसको संवादबाट हामी समाधान गर्छौ। त्यो कुनै नयाँ कुरा होइन। अस्ति थाइल्याण्डमा मोदीजी र मेरो लामै कुराकानी भएको छ।
अझ लामो कुराकानी हुन्थ्यो। तर, मोदीजीको अर्को कार्यक्रममा जानै पर्ने पूर्वनिर्धारित कुराले गर्दा ४५ मिनेट जति कुरा गरेर हामी छुट्यौं। बहुत राम्रो कुरा भएको छ। विरोध छ, समर्थन आदि..त्यत्रो भारतमा कसैले विरोध गर्ला, यहीँ नेपालमा पनि हाम्रो विरोध गर्ने छन् नि।
त्यत्रो भारतमा कसैले विरोध गर्ला, हुनसक्छ त्यत्रो चीनमा कसैले विरोध गर्ला, हुनसक्छ अमेरिकामा कसैले विरोध गर्ला, कुन व्यक्तिले के गर्छ, तर हाम्रा सम्बन्धहरु बहुत राम्रा छन्।
हामी कसैका विरुद्ध होइन, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता भन्ने नीतिका साथ अगाडि बढेका छौं र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित छ, असंलग्न छ, तटस्थ छ, मित्रतापूर्ण छ, देशभित्र हाम्रो सम्बन्ध जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संविधानको पक्षमा, शान्ति न्याय र समानता, सुरक्षा र सम्मानित जीवनको सबैका निम्तिको प्रत्याभूतिको पक्षमा छ।
शहीदका सपनाहरु हामीले नबोकेका होइनौं, बोकिराखेका छौं र तिनै सपनाहरु हामी पनि देखिराखेका छौं, अझै उज्वल भविष्यको सपना। अघि हामीले भिडियो हेर्यौं, कहाँबाट कहाँ, यिनै ३३ वर्षमा हामी कहाँबाट कहाँ पुुग्यौं ? के के विकास गर्यौं, के के फरक पर्यो, त्यसो भएर हामीले उपलब्धि हासिल गरेका छौं, भिन्नता ल्याएका छौं, भिन्नता ल्याउने छौं, सकारात्मक भिन्नता ल्याउने छौं।
हामी नकारात्मक सोचबाट होइन, सकारात्मक सोचका साथ अगाडि बढेका छौं। आज विशेष महत्वको दिन हो, हामीले विशेष संकल्प गर्नु पर्दछ।
त्यो संकल्पका साथ अगाडि बढौं भन्ने म साथीहरुलाई आग्रह गर्न चाहन्छु। देशभरिका साथीहरुले एउटा नयाँ अठोट र नयाँ सकंल्पका साथ ७७ वर्षलाई हामीले नयाँ उत्साहको र सफलताको वर्ष बनाउनु पर्दछ।
यो मिसन ०८४ का लागि सफलताका लागि मजबुत आधारहरु बनाउने वर्षका रुपमा यो आगामी वर्ष हुनुपर्छ।
Discussion about this post