मुलुकले आज (बिहीबार ) १९औं लोकतन्त्र दिवस मनाउँदै छ । जनआन्दोलन सफल भएर नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन आजै हो ।
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन सफल भएको उत्सवका रूपमा प्रत्येक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा जनआन्दोलनका ज्ञात–अज्ञात सम्पूर्ण शहीदहरुप्रति श्रद्धासुमन अर्पण गरिन्छ । प्रजातन्त्र सेनानी, प्रजातान्त्रिक योद्धा, विचारकहरु अनि सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाहरुलाई पनि सम्झने गरिन्छ ।
दीप प्रज्वलन, सरसफाई, प्रभातफेरी र प्रवचन, जनआन्दोलनका शहीदहरुको सम्झना र घाइते तथा उनीहरुका परिवारलाई सम्मान गर्दै लोकतन्त्र दिवस मनाउने गरिएको छ । सबैको महान बलिदान, सङ्घर्ष र तपस्याकै कारण मुलुकले लोकतन्त्र प्राप्त प्राप्त गरेको हो ।
लोकतन्त्रमा जनता नै शक्तिशाली हुन्छन् भन्ने मान्यता छ । जनताको प्रत्यक्ष शासनको व्यवस्था लोकतन्त्रमा हुन्छ । जनताले चुनेकाहरुले प्रत्यक्ष शासन गर्ने व्यवस्था लोकतन्त्र हो ।
राजसंस्था अन्त्य गर्न र लोकतन्त्र स्थापना गर्नका लागि जनताले महत्वपूर्ण भूमिका खेलेका थिए । जसका कारण लोकतान्त्रिक गणतन्त्र स्थापनामा बल पुग्यो । निरङ्कुश राजतन्त्रले घुँडा टेक्यो ।
लोकतन्त्र स्थापनाका लागि सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनमा रहेका राजनीतिक दलहरु बीचको १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहासिक जनआन्दोलन सफल भएको थियो । जनआन्दोलनको सफलतासँगै युद्धरत माओवादी शान्ति प्रक्रियामा फर्कियो ।
तर युद्धको घोषणा गरेर मुलुकमा ठुलो क्षति पुर्याएको माओवादीले पनि जनयुद्धको म्यान्डेडअनुसार काम गर्न नसक्दा जनतामा दलीय व्यवस्थाप्रति नै वितृष्णा पैदा भइरहेको छ । २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुर्नस्थापना गर्दै जनताको नासो जनतालाई नै फिर्ता गरेका थिए । अर्थात शासनसत्ता नेपाली जनतालाई सुम्पिएका थिए ।
जनतालाई शासन सुम्पिएपछि नारायणहिटी दरबारबाट उनको बर्हिगमन भयो । त्यही भएकाले वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो । जनआन्दोलनकै कारण मुलुकले नयाँ मोड लिएको थियो ।
देशलाई समृद्धिको बाटोमा हिँडाउन संविधानसभाको यात्रा यही आन्दोलनले तय गरेको हो । फलस्वरुप सबै नेपालीको आकांक्षा पूरा गर्न २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी गर्न राजनीतिक दलहरु सफल भएन ।
राजसंस्थाको पद्धतिमा मुलुकको मुख्य शासक राजा हुने व्यवस्था थियो । २०४६ सालपछि संवैधानिक राजतन्त्रको स्थापना भयो । मुलुकमा शासन गर्न राजपरिवारमै जन्मिनुपर्ने व्यवस्था थियो । तर त्यो क्रमको अन्त्य भएपछि जनताले चुनेका प्रतिनिधि राष्ट्रपति हुने व्यवस्था आएको छ ।
अहिले मुलुकमा जनताकै छोरी विद्यादेवी भण्डारी राष्ट्रपति छिन् । आजको दिन राष्ट्रपतिले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ । जनआन्दोलन पश्चात गठन भएको संविधानसभाले जारी गरेको नेपालको नयाँ संविधान कार्यान्वयनका लागि नेपाली जनताले खवरदारी पनि गरिरहेका छन् ।
Discussion about this post