हामीले दैनिक जीवनमा प्रयोग गर्ने गुलियो पदार्थ नै हाम्रो स्वास्थ्यका लागि विष समान बन्दै गएको छ । त्यो पदार्थ हो चिनी, जो नेपालीको भान्साबाट प्रायः टुट्दैन । जसका कारण मानिस अनगिन्ती रोगको सिकार हुनुपरिरहेको छ । हामीमध्ये धेरैलाई के लाग्छ भने सुगर वा मधुमेह रोग लाग्नेलाई मात्र चिनीले असर गर्छ । कसैले ‘चिनी खान्नँ’ भन्यो भने हामी सोध्छौँ वा शंका गर्छौं— ‘सुगर छ कि !’ तर हामीलाई थाहा छैन कि सुगर हुने वा नहुने, स्वास्थ्य ठिक हुने वा नहुने कसैले पनि चिनी खानु हुँदैन, यो स्वास्थ्यका लागि हानिकारक छ । अध्ययनले देखाउँछन्— मधुमेहसँगै मुटुरोग, पाचन प्रणालीसम्बन्धी समस्या, मानसिक स्वास्थ्यमा देखिने समस्या, महिलाहरूमा हुने विभिन्न समस्या (महिनावारी तथा प्रजनन स्वास्थ्यदेखि छालाको सुन्दरतामा देखिने विभिन्न समस्या)मा चिनीको असर रहन्छ । अझै सरल भाषामा भन्नुपर्दा समग्र मानव स्वास्थ्यमा अत्यन्तै ठुलो प्रभाव र असर चिनीको रहन्छ । अध्ययनहरुले चिनीलाई ‘गुलियो विष’ नै भनेका छन् ।
- चिनी के हो ?
अधिकांशले चिनी भन्नेबित्तिकै बजारमा पाइने सेता दाना भएको गुलियो पदार्थलाई सम्झन्छौँ । जुन उखुबाट बनेको र प्रशोधित हो भन्ने पनि धेरैलाई थाहा छ । तर बजारमा पाइने अन्य अधिकांश खाद्यवस्तुमा यही प्रशोधित चिनी मिसाइएको हुन्छ । खाद्य उद्योगहरुले आफ्ना उत्पादनमा मिसाएको चिनीको मात्रा लुकाउनका लागि फरक नाम दिएका हुन्छन् । चिनीलाई ५० देखि ७० वा अझै त्योभन्दा बढी नामले चिनाउने गरिन्छ ।
चिनी आफैँले शरीरमा विभिन्न हानिकारक असर गरिरहेको हुन्छ भने अर्काेतिर शरीरले विभिन्न खानाबाट प्रोटिन लिने प्रक्रियालाई समेत असर गर्छ । चिनीले मानव शरीरमा गर्ने असरका बारेमा मात्र लेख्ने हो भने लेख्नलाई समय पुग्दैन, त्यसैले समग्रमा यसोभन्दा फरक पर्दैन, टाउकोदेखि पैतालासम्म चिनीले असर नगर्ने शरीरको कुनै भाग बिरलै भेट्न सकिन्छ ।
चिनीको दीर्घकालीन प्रभावका बारेमा गरिएको एक अध्ययनमा ब्रिटिस पोषणविद् जोन युड्किनले भनेका छन्— चिनीको सेवनका कारण हाम्रो सरदर आयुमा समेत प्रत्यक्ष प्रभाव पर्न सक्छ ।
कतिपय व्यक्तिलाई चिनी छाड्न खासै कष्टकर नहुन सक्छ, तर कसैलाई यो अत्यन्त कठिन लाग्न सक्छ, इच्छाशक्तिको कुरा हो, यो लेख्दै गर्दा म आफैँले चिनी छाडेको ठ्याक्कै १० वर्ष बितिसकेको छ ।
कतिपय अध्ययनले चिनीलाई एकदमै कडा लत लाग्ने पदार्थ कोकिन मोर्फिनसँग पनि तुलना गरेको पाइन्छ । जसको अर्थ यही हुन्छ कि लत लाग्ने भएकाले चिनी झ्याप्प छोड्न कठिन छ । अलिकति गुलियो मुखमा पर्नेबित्तिकै हामीले थप खान थाल्छौँ । यसमा हाम्रो कुनै गल्ती छैन, हाम्रो दिमागले नै स्वादिलो खान प्रेरित गरिरहेको हुन्छ, जसलाई ‘मेसोलिम्बिक डोपामाइन सिस्टम’ भनिन्छ । त्यसैले हामीले सर्वप्रथम चिनीका बेफाइदामा ध्यान केन्द्रित गर्नुपर्छ, यसो भयो भने बिस्तारै चिनी खान छाड्न सकिन्छ ।
जब चिनीबिनाका चिज खान बानी पर्न थाल्छ, तब थाहा हुन्छ, यी खानामा त्यस्ता स्वाद छन्, जुन हामीले बिर्सिसकेका थियौँ, अथवा त्यस स्वादबारे थाहै थिएन ।
बच्चाले प्याकेटको खानेकुरा, चकलेट मागेका बेला खुरुक्क किनेर दिन्छौँ, यसो गर्नुको सट्टा उनीहरूले बुझ्ने भाषामा यो कुरा खान हुने कि नहुने भनी बुझाउन सकिन्छ, यसका लागि अभिभावक नै चिनीका बारेमा जानकार हुनुपर्छ ।
संसारभरि प्रशोधित चिनीलाई प्रतिबन्ध नै लगाउने बहस बेला–बेला चल्ने गरेका छन् । यो परिप्रेक्ष्यमा एकपटक हामीले हाम्रो खानपान र चिनीका बारेमा सोच्नैपर्छ ।
Discussion about this post