गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्।
बिहीबार गृहमन्त्री लेखकले प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’
त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि यस घटनाको अनुसन्धान सुरू भएको बताए।
बुधबार साँझ कास्की हिरासतमा सुतिरहेका रवि लामिछानेको सिसिटिभी फुटेजको फोटो सामाजिक सञ्जालमा बाहिरिएको थियो।
उक्त तस्बिर डाक्टर निकोलस भुसालले लिएर सार्वजनिक गरेको स्वीकार गरेका छन्। उनले गत शनिबार लामिछानेलाई भेट्न जाँदा प्रहरीकै अगाडि खिचेको र गल्ती भएको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका छन्।
Discussion about this post