बजारमा सिमेन्टको मूल्य फेरि बढेको छ।
निर्माण क्षेत्रको सिजन सुरू भएसँगै उद्योगीहरूले सिमेन्टको मूल्य बढाएका हुन्।
पछिल्लो समय प्रतिबोरा ३० देखि ५० रूपैयाँसम्मले सिमेन्टको मूल्य बढेको नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंले जानकारी दिएको छ।
संघका अनुसार गत शुक्रबारदेखि लागू हुने गरी ओपिसी सिमेन्टमा प्रतिबोरा ३० रूपैयाँ र पिपिसी सिमेन्टमा प्रतिबोरा ५० रूपैयाँले मूल्य वृद्धि भएको हो।कात्तिकदेखि सिमेन्ट उत्पादक कम्पनीहरूले सिमेन्टको मूल्य बढाउँदै लगेका छन्। एक महिनाको अवधिमा सिमेन्टमा डेढसय रूपैयाँभन्दा बढी मूल्य वृद्धि भइसकेको छ।
दसैंअघि बजारमा उपभोक्ताका लागि पिपिसी सिमेन्टको मूल्य काठमाडौंमा प्रतिबोरा पाँच सय रूपैयाँदेखि पाँच सय २५ रूपैयाँसम्म थियो। त्यस्तै, ओपिसी सिमेन्ट ६ सयदेखि ६ सय २५ रूपैयाँसम्म थियो।
गत साता शुक्रबारदेखि लागु हुनेगरी पुनः मूल्य बढेपछि अहिले बजारमा पिपिसी सिमेन्टको मूल्य काठमाडौंका ग्राहकका लागि प्रतिबोरा ६ सय ५० रूपैयाँदेखि सात सय रूपैयाँसम्म छ। त्यस्तै, ओपिसी सिमेन्ट सात सय ३० देखि सात सय ८० रूपैयाँसम्म पुगेको छ।
सिमेन्टको मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन्।
Discussion about this post