प्यारालाइसिस ४० वर्षमाथि उमेरकालाई लाग्ने सम्भावना हुन्छ । तर पछिल्लो समयमा कम उमेरमा नै देखिने प्रेसर, सुगर लगायत बिरामी बढेसँगै यो रोगको जोखिम पनि ४० वर्ष उमेर अगावै देखिन सक्ने न्यूरो इन्टरभेन्सनिस्ट डा. सुवास फुयाँल बताउँछन् । सुगरका बिरामीलाई पनि यो समस्या हुने सम्भावना हुन्छ । सुगरको औषधि सेवन गर्नु भएन भने पनि यो समस्या हुने देखिन्छ ।’ उनी भन्छन्, ‘रगतमा भएका सुगरको मात्रा दिमागको नसामा गएर जम्ने हुन्छ । यसले दिमागको नसा बन्द हुने समस्या आउँछ ।’उनका अनुसार प्रेसरका बिरामीलाई प्रेसर परीक्षण गरिएको छैन, प्रेसर परीक्षण गरेर पनि नियमित औषधि सेवन गरेका छैन, भने पनि प्यारालाइसिस हुने सम्भावना रहन्छ । ‘प्रेसर दिमागको नसामा पुग्छ । ती नसा खुम्चिँदै गएर बन्द हुन्छ । यसले प्यारालाइसिस गराउँछ’ उनले भने ।मोटोपना भएका व्यक्तिमा यो रोग लाग्न सक्ने उनी बताउँछन् । त्यसैले मोटोपना बढी भएका व्यक्तिले नियमित रूपमा व्यायाम गर्न सुझाउँछन् । यस्तै, धूम्रपान सेवन गर्ने, मादक पदार्थ सेवन गर्ने व्यक्ति, मुटुको समस्या भएका व्यक्तिमा यो रोगको जोखिम बढी हुन्छ । ‘मुटुले रगत फालेर शरीरका विभिन्न ठाउँमा पुर्याउने गर्छ । तर मुटुमै समस्या भएमा रगत राम्रोसँग फ्याँक्न सकेन भने रगत जमेर ढिक्का बन्छ’ उनी भन्छन्, ‘रगत ढिक्का बन्न नदिन मुटु रोगका बिरामीलाई रगत पातलो बनाउने औषधि दिइन्छ । त्यो औषधि नियमित सेवन नगरेमा रगत जम्छ । रगतको ढिक्का उछिट्टिएर दिमागका अन्य नसामा गएर बन्द भइदिन्छ । यिनै कारणले गर्दा प्यारालाइसिस, पक्षाघात तथा स्ट्रोकको समस्या देखिन्छ । ’
डा. फुयाँलका अनुसार पछिल्लो समय साना उमेरका व्यक्तिलाई पनि प्यारालाइसिसको जोखिम बढ्दो छ । पहिला बढ्दो उमेरमा स्ट्रोकको जोखिम हुन्छ भनिन्थ्यो । किनकि सुगर, प्रेसर लगायत रोगहरू बढ्दो उमेरमा देखिन्थ्यो तर पछिल्लो समय आएर ‘स्ट्रोकिङ योङ्ग’ पनि भनिन्छ । ‘मैले २० वर्षको मानिसलाई पनि उपचार गरेको छु । ९२ उमेरकालाई पनि उपचार गरेको छु ।’ उनी भन्छन्, ‘२०/२२ वर्ष उमेरकालाई पनि यो रोग हुन थालेको छ ।’
कम उमेरमा प्यारालाइसिस हुनु तनाव पनि एक कारण रहेको सुनाए । ‘समयमा सुत्दैनन् । मानिस ७ देखि ९ घण्टा सुत्नु पर्छ । तर तनाव लिन्छौँ, यो सबै कुराले पनि स्ट्रोक गराउँछ’ उनले भने, ‘अहिले १०० जनामध्ये १५ जना ४० वर्षभन्दा कम उमेरकालाई स्ट्रोक भएको पाइन्छ ।’
Discussion about this post