जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बाग्मती प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा(हुरीको समेत सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Discussion about this post