१५ भदौ–प्रमुख प्रतिपक्षी दल एमालेको प्रदेश अधिवेशन भोली बाट सुरू हुने भएको छ । वैशाख २८–३० मा बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकले २०८० साललाई अधिवेशनको वर्ष बनाउने एमालले निर्णय गरेको थियो ।
तदनुरूप एमालेले भोलिबाट प्रदेशको अधिवेशन गर्न लागेको हो। भोली लुम्बिनीबाट एमालेले प्रदेश अधिवेशन आरम्भ गर्दै छ।
कार्यकारी र पदेन पोलिटब्युरो सदस्य हुने भएपछि केन्द्रीय नेताहरू नै प्रदेश अध्यक्षको दौडमा रहेका छन । पोलिटब्युरो सदस्य भइसकेकाहरू पनि कार्यकारी भूमिको लोभमा प्रदेशको नेतृत्व गर्न इच्छुक देखिएको नेताहरूले बताएका छन ।
त्यतिमात्र होइन, प्रदेशका अधिवेशनहरूबाट चुनिएर आउने नेतृत्वले एमाले भित्रको शक्ति–संघर्षलाई पनि देखाउने नेताहरूले बताएका छन ।
लुम्बिनी प्रदेशमा विष्णु पौडेल भर्सेस शंकर पोखरेल
साविक लुम्बिनी अञ्चल छँदै त्यहाँको एमालेको राजनीति विष्णु पौडेल भर्सेस शंकर पोखरेलजस्तो देखिएको थियो। नवौं महाधिवेशनमा केपी ओली समूहबाट उपमहासचिवमा पोखरेल र पौडेलले उम्मेदवार बनेका थिए ।
पौडेल उपमहाचिव निर्वाचित हुँदा पोखरेल पराजित हुन पुगे। त्यतिबेला पोखरेललाई प्रतिस्पर्धी ठानेका पौडेलले हाल एकीकृत समाजवादीका महासचिव रहेका घनश्याम भूषाललाई सघाएको आरोप पनि लाग्यो।
गत निर्वाचनमा पनि लुम्बिनी प्रदेशको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार तय गर्दा पनि उनीहरूबीच टकराव देखिएको थियो।
त्यसको असर निर्वाचन परिणामा पनि परेको एमालेका नेताहरुले बताउदै आएका छन । आरोपहरूलाई सत्य मान्ने ठोस तथ्य त भेटिँदैन। तथापि उनीहरूबीच अहिले पनि प्रतिस्पर्धा नै देखिन्छ।
प्रदेशको अधिवेशनमा ओली खेमाकै दुई गुट मैदानमा देखिएका छन्। लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ भोलिबाट सुरू हुँदै छ।
अधिवेशनको रौनक बढ्दै जाँदा एमाले उपाध्यक्ष विणु पौडेल र महासचिव शंकर पोखरेलबीचको चुनावजस्तो देखिएको छ। अहिले मैदानमा देखिएका आकांक्षीमा कँडेल पौडेल निकट हुन् भने रिजाल महासचिव पोखरेल निकट हुन्।
रिजाललाई ११ जिल्लाअध्यक्ष मध्ये अधिकांशको समर्थन देखिएको छ। लुम्बिनी प्रदेशमा ८२ हजार केही बढी संगठित सदस्यमध्येबाट १ हजार हाराहारी प्रतिनिधि चुनिएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने र सर्वसम्मत नेतृत्व छानिने सम्भावना बढेर गएको एमालेका नेता बताउँछन्।
अहिले राधाकृष्ण कँडेल प्रदेश अध्यक्ष छन् भने उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ छन्। प्रदेश सचिव भने दाङका लक्ष्मण आचार्य रहेका छन्।
Discussion about this post