जथाभावी दिसा बस्दा जुकाको फुल जताततै फैलिएर सागपात, माटो, पानीको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ । त्यस्तै फोहोर हात, झिंगा र जनावरहरूले दूषित पारेको खानेकुरा खाँदा खानाको माध्यमबाट पनि जुकाको फूल मानिसको आन्द्रामा पुग्छ ।
यसैगरी दूषित पानी, फोहोर नङ टोक्ने बानी, हात नधोइकन खानेकुरा खाँदा, भुईंमा झरेको खानेकुरा टिपेर खाँदा, राम्ररी नपाकेको मासु खाँदा, फलफूल, सलाद नपखाली खाने गर्दा पनि जुका पर्ने जोखिम हुन्छ ।
बालबालिका र ज्येष्ठ नागरिकले सरसफाइमा आफैं ध्यान दिन नसक्ने हुँदा उनीहरुलाई जुका पर्ने सम्भावना बढी हुन्छ ।
कतिपयमा बंगुरको मासु खायो भने जुका पर्छ भन्ने भ्रम छ । तर बंगुरको मासु खाएर होइन, बंगुरको दिसामा चाहिं जुकाका अण्डा हुन सक्छ । त्यसको सम्पर्कमा पुग्दा जुका पर्ने हुन्छ ।
जुका पर्दा देखिने लक्षण
जुका पर्दा पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, वाकवाक लाग्ने, बान्ता हुने, ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, वजन घट्ने, मलद्वार चिलाउने, आँखाको वरिपरि कालो घेरा पर्ने समस्या देखिन्छ ।
Discussion about this post