नेपाल वायुसेवा निगमका केही कर्मचारी निलम्बनमा परेका छन् । उनीहरुले विमान उडाउनुअघि निर्वाह गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले यात्रु र उडानको सुरक्षामा खेलबाड गर्ने ती कर्मचारीलाई निलम्बन गरेको बताइको छ ।
हिजो ताप्लेजुङबाट काठमाडौंमा भएको उडानको क्रममा विमान र सामानको तौलमा लापरवाही गरेकोमा निगमको चालक दलका सदस्य, फ्लाइट डिस्प्याचर र ताप्लेजुङका ग्राउण्ड कर्मचारीलाई निलम्बन गरिएको हो । उनीहरुले विमानमा तोकिएको भन्दा ४८ केजी बढी तौल राखेका थिए ।
त्यसैगरी एक जना पुरुष यात्रुलाई महिला उल्लेख गरिएको पनि पाइएको छ । उक्त कार्यमा संलग्न सबै कर्मचारीलाई अर्को सूचना जारी नभएसम्म निलम्बन गरिएको हो ।
ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा बढी तौल पाइएको थियो । सोही कारण चालक दलका तीन जना, निगमका मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले पुष्टि गरेका छन् ।
Discussion about this post